लमजुङ —लमजुङको मध्यनेपाल नगरपालिका-४ दुईपिप्लेमा श्रीमान्को कुटपिटबाट गम्भीर घाइते ४० वर्षिया उजेली गुरुङको मृत्यु भएको छ ।
सप्तरीको साविक बरही बिरपुर गाविस ६ (हाल छिन्नमस्ता गाउापालिका १) घर भइ हाल मध्यनेपाल नगरपालिका-४ दुइपिप्ले बस्दै आएका सितोराम दासले आफ्नै श्रीमती गुरुङलाई बाँसको भाटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार चैत २३ गते राति १० बजेतिर दासको कुटपिटबाट श्रीमती गुरुङ गम्भीर घाइते भएका थिए । पोखरास्थित गण्डकी अस्पताल लगेर उपचार भइरहेकोमा उपचारको क्रममा बिहीबार बिहान १० बजेतिर गुरुङको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।
प्रहरीका अनुसार कामकाजको सिलसिलामा सितोराम दास करीब २५/२६ वर्ष पहिला लमजुङको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेमा आएर बसेको खुलेको छ । उनले नजिकै छिमेकी जिल्ला तनहुँको व्यास नगपालिका ८ बर्लाछीकी उजेली गुरुङसँग विवाह गरी त्यसयता दुइपिप्लेमा संगै बस्दै आएका थिए ।
घरमा समेत नबसी बाहिर–बाहिर हिँड्ने र बस्ने गरेका सितोराम दासले उक्त राती घरमा आएर श्रीमतीमाथि अन्दाधुन्दा बाँसको भाटा प्रयोग गरेको प्रहरीले बताएको छ । उनको कुटपिटबाट श्रीमती उजेलीको टाउको, ढाड लगायत विभिन्न भागमा चोट पुर्याएपछि उपचारको लागि रातारात पोखरा लगिएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक खड्काले बताए । गण्डकी मेडिकल कलेजको आइसीयुमा भर्ना गरेर उपचार भइरहेकोमा उजेलीको बिहीबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले घटनामा संलग्न दासलाई २४ गते नै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको बताए । सुरुमा उनलाई जिल्ला अदालतबाट २५ गते दिन ७ को म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान कार्य अघि बढाएको थियो । उपचारको क्रममा घाइतेको मृत्यु भएपछि दासमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइने सूचना अधिकारी चपाईंले बताए ।
दास र गुरुङ दम्पत्तिबाट १ छोरा र १ छोरी छन् । छोरीको २ वर्षअघि नै विवाह भइसकेको छ । छोरा आमा उजेलीको साथमा बस्दै आएकी थिइन् । श्रीमानश्रीमती पहिलेदेखि नै झगडा भइरहने भएकाले उजेलीका श्रीमान् दास कहिले घर छोडेर र कहिले घर आउने गर्दै आएका थिए ।