बागलुङ, जैमिनी नगरपालिका–५, विनामारे श्री सर्वोदय स्काउट ट्रुप अन्तर्गत १३ महिनाअघि सुरु गरिएको स्काउट तालिम कार्यक्रमले आज एक ऐतिहासिक मोड लिँदै २५ जना विद्यार्थी तथा सर्वोदय माध्यमिक विद्यालयका प्राध्यापकलाई विधिवत दीक्षित गरी स्काउटका पूर्ण सदस्य बनाएको छ। दीक्षा कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, सेवा भाव र राष्ट्रप्रेम झल्किने झल्किएका दृश्यहरूले सम्पूर्ण उपस्थितलाई भावुक बनाएको थियो।

यस विशेष अवसरमा विद्यार्थीहरूले आफ्नो अनुभव साझा गर्दै प्रशिक्षणको क्रममा सिकेका कुराले जीवनलाई कसरी सकारात्मक दिशामा लैजान सकिन्छ भन्ने गहिरो सन्देश दिएका थिए। उनीहरूका अनुहारमा देखिएको मुस्कान, आत्मगौरव र उज्यालो भविष्यप्रतिको आशाले सम्पूर्ण वातावरण नै उत्साहपूर्ण बनेको थियो।

सर्वोदय स्काउट ट्रुपका स्काउट शिक्षक तथा नेपाल स्काउट स्थानीय समिति, जैमिनी नगर कमिटीका सदस्यता वृद्धि संयोजक श्री केशवराज शर्माले कार्यक्रमको औपचारिक समापनमा आफ्नो मन्तव्य दिँदै भन्नुभयो –
“आज हामी अत्यन्तै खुशी छौं। ती २५ जना विद्यार्थीहरूलाई १३ महिनाको निरन्तर अभ्यास, लगनशीलता र समर्पणपछि दीक्षित गरिँदा हामीलाई लागेको छ – हाम्रो प्रयास सफल भयो। स्काउट प्रशिक्षणले विद्यार्थीहरूको व्यक्तित्व निर्माण, आत्मानुशासन, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाएको छ।”
उहाँले थप भन्नुभयो, “हाल प्रारम्भिक चरणमा रहेका तथा दीक्षाको पर्खाइमा रहेका अन्य विद्यार्थीहरूलाई पनि चाँडै अर्को चरणको कार्यक्रममार्फत दीक्षित गरिने योजना रहेको छ। हामी निरन्तर रूपमा स्काउटको अभियानलाई गाउँ गाउँमा फैलाउने लक्ष्यसहित अघि बढिरहेका छौं।”
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यालय परिवार तथा स्थानीय सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो। सबैले स्काउट गतिविधिले बालबालिकाको समग्र विकासमा पुर्याउने योगदानप्रति आभार प्रकट गरे।
यसरी स्काउट आन्दोलनको विकास र विस्तारमा प्रत्यक्ष र परोक्ष रूपमा साथ र सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यालय परिवार, स्थानीय निकाय, समाजसेवी तथा शुभेच्छुकहरूप्रति श्री सर्वोदय स्काउट ट्रुप हार्दिक कृतज्ञता प्रकट गर्दछ।
