प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात्राको निमन्त्रणामा बैंकक जाँदैछन्। भ्रमणका क्रममा दुई देशबीच पर्यटन र संस्कृतिका क्षेत्रमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछन्। साथै, गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूबीच छवटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश महा वजिरालोङकोर्नसँग शिष्टाचार भेट गर्नेछन्। उनले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग अन्तर्क्रिया गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका नेताहरूको सहभागिता रहनेछ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, उनकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रसचिव अमृतबहादुर राई, निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना सदस्यहरू रहेका छन्।
प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।