सूर्योदय वोमी लघुवित्तद्वारा बेनीमा बेमौसमी तरकारीका बिरुवा वितरण

पर्वत, चैत्र २१ – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, स्टेशन कार्यालय पर्वत बेनी अन्तर्गत शाखा कार्यालय बेनीले आफ्ना समुहमा आबद्ध सदस्यहरूलाई बेमौसमी तरकारीका बिरुवा वितरण गरेको छ।

संस्थाले २०८१ फाल्गुन २८ गते बेनी नगरपालिका–०१, लामागरामा बेमौसमी तरकारी खेतीसम्बन्धी विशेष तालिम आयोजना गरेको थियो। सो तालिममा ८५ जना समुह सदस्यहरूको सहभागिता रहेको थियो। तालिमको क्रममा लौका, सिमी, बोडी, करेला, काक्रो, घिरौंला लगायतका तरकारीको व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापनबारे प्रशिक्षण दिइएको थियो।तालिमको प्रतिफलस्वरूप हुर्किसकेका ती बिरुवाहरू आज २०८१ चैत्र २१ गते पुनः बेनी नगरपालिका–०१, लामागरामै आयोजित कार्यक्रममा ८१ जना समुह सदस्यहरूलाई वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिका–०१ का वडा सदस्य निर्मला सापकोटा रहनुभएको थियो भने सभाध्यक्षको भूमिका चिनु घर्ती क्षेत्री ले निर्वाह गर्नुभएको थियो। त्यस्तै, कार्यक्रमका विशेष अतिथिहरूमा प्रहरी सहायक निरीक्षक विजय बहादुर घर्ती क्षेत्री, हवल्दार शेर बहादुर लामिछाने, स्थानिय समाजसेवी कमल थापा मगर तथा अनुगमन अधिकृत दिपक अधिकारी रहनुभएको थियो।

कार्यक्रम सञ्चालन शाखा प्रमुख अजय कोइराला ले गर्नुभएको थियो भने शाखाका अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।शाखा कार्यालय बेनीका प्रमुख अजय कोइराला ले संस्थाले कृषि तथा आयआर्जनमूलक कार्यक्रमहरू मार्फत सदस्यहरूको आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले बेमौसमी तरकारी खेतीलाई थप व्यावसायिक बनाउन आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

तालिम तथा बिरुवा वितरण कार्यक्रममा सहभागी समुह सदस्यहरूले यस्तो कार्यक्रमले व्यावसायिक कृषि तथा आर्थिक उन्नतिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए। सूर्योदय वोमी लघुवित्तले यसअघि पनि मलजल व्यवस्थापन, कृषि उद्यमशीलता, पशुपालन लगायतका विभिन्न आयआर्जनमुखी तालिमहरू सञ्चालन गर्दै आएको छ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै सदस्यहरूको आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले उनीहरूलाई थप उर्जा प्रदान गर्ने विश्वास गरिएको छ।

Spread the love by sharing this post