जनैलाई संस्कृतमा यज्ञोपवीत भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन वेद पाठ, रुद्राभिषेक आदि गरेर वैदिक मन्त्रबाट अभिषेक/अभिमन्त्रणा गरी यज्ञोपवीत निर्माण गरिने शास्त्रीय विधान छ । जनैको अर्को नाउँ ब्रह्म सूत्र हो ।
ब्रह्माले निर्माण गरेकाले यसलाई ब्रह्म सूत्र भनिएको हो । स्मृतिमा ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्री माताले अभिमन्त्रित गरी रक्षा कवच बनाएको उल्लेख पाइन्छ । तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवम् गायत्री माताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ ।


जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै पारस्करगृह्यसूत्रमा लेखिएको छ– जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवीत दिएर आयु (इन्द्रासनको आयु), बल, बुद्धि तथा समृद्धि प्रदान गरे त्यसरी तिमी पनि आयु, वर्चस् (तेज), शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तिका लागि जनै लगाऊ । ऋग्वेदका अरू मन्त्रमा पनि भनिएको छ– यज्ञोपवीतको शक्ति महान् छ, यसले मानिसलाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्यपालनका लागि सामर्थ्य प्रदान गर्छ । यसलाई धारण गर्ने व्यक्तिले सहजै मोक्ष प्राप्त गर्छ ।
अग्नि समान तेजस्विता, सूर्य समान शौर्य, चन्द्र समान शीतलता, दिव्य गुण एवम् सदा प्रसन्नता र उच्च मनोबल प्राप्त गर्न सधैँ जनै लगाउनुपर्छ भन्ने वेद वाक्यबाट पुष्टि हुन्छ । सधंै सत्य बोल्ने प्रेरणा प्राप्तिका लागि पनि जनै लगाउनुपर्ने वेद र गृह्य सूत्रले भन्छन् । यसलाई मनोवैज्ञानिक कोणबाट पनि प्रमाणित गर्न सकिन्छ । जो सधंै जनै धारण गर्छ, जो सधैँ सत्य निष्ठामा रहन्छ, उसको मनोविज्ञान सधैँ उँचो रहने व्यवहारबाट बुझ्न सकिन्छ ।
पवितमा ९ डोरा हुन्छन् । तीमध्ये पहिलामा ॐकार, दोस्रामा अग्नि, तेस्रामा नाग, चौथामा चन्द्र, पाँचौँमा पितृहरू, छैटौँमा प्रजापति, सातौँमा अग्नि (कतै वायु पनि लेखिएको), आठौँमा सूर्य एवम् नवौँ तन्तुमा विश्वदेवको आवाहन गरिन्छ साथै तीन ग्रन्थि (गाँठा) मा ब्रह्मा, विष्णु र महेश्वरलाई आवाहन एवम् पूजा गरिन्छ । यस कारण अभिमन्त्रित जनैमा बस्ने यी देवताले धारकलाई आफूमा विद्यमान शक्ति र सामर्थ्य प्रदान गर्छन् भन्ने शास्त्रीय वचन पाइन्छ ।
जनैलाई शौचका समयमा दाहिने कानमा बेर्ने चलन छ । जनैमा मलमूत्रको स्पर्श नहोस् भन्ने यसको मूल मर्म हुनुपर्छ । केही परम्परावादीले चिकित्सा विज्ञानलाई उद्धृत गर्दै कानका नसाको सिधा सम्पर्क अण्डकोषसँग हुने बताउँछन् । बसेर मलमूत्र त्याग गरिँदा कानमा जनै बेरियो भने त्यहाँका नसा दबिई प्रत्यक्ष–अप्रत्यक्ष शुक्राणु पिसाबसँगै बाहिरिनबाट जोगिने, पाचन प्रणाली सहज हुने उनीहरूको भनाइ छ । तर यसलाई अमेरिकाको युनिभर्सिटी अफ इलिनोइमा कार्यरत न्युरोलोजिस्ट (एमडी) डा. द्रोणाचार्य लामिछानेले प्रमाणित स्वीकार गरेका छन् ।
यज्ञोपवीत कति डोराको लगाउने भन्ने विषयमा शास्त्रमा फरक–फरक व्यवस्था देखिन्छ । हेमाद्रि लगायतका ग्रन्थमा ब्रह्मचारी र संन्यासीले ३ डोरा, वानप्रस्थ तथा उत्तरीय वस्त्र (गम्छा आदि) लगाउने गृहस्थले ६ डोरा एवम् उत्तरीय नलगाउने गृहस्थले चाहिँ ९ डोराको जनै धारण गर्नुपर्ने उल्लेख छ ।
ब्रह्मचारीले समावर्तनपश्चात् ६ डोराको जनै लगाउनुपर्ने हो तर नेपाली समाजमा व्रतबन्धकै दिन समावर्तन विधि पूरा गरिन्छ । त्यसै दिनदेखि उनीहरू ६ डोराका जनै लगाउने गर्छन् । जनै कम्मरभन्दा मुनि जानु हुन्न र माथि पनि उठेको हुनु हुन्न भन्ने ऋषि वशिष्ठले उल्लेख गरेका छन् । जनै पुरानो भएपछि कति दिनमा विसर्जन गर्ने भन्ने विषयमा पनि स्मृतिकारबिच मतभेद देखिन्छ । एक थरीले ६ महिनामा फेर्ने भनेका भए पनि नेपालमा चाहिँ सुतकबाट चोखिएपछि, मरणको आशौचपछि अथवा चार महिना पुगेपछि जनै फेर्ने मान्यता देखिन्छ ।
व्यावहारिक दृष्टिबाट हेर्ने हो भने ऋषिहरूले आर्यलाई अरूबाट छुट्टाउन शिखा र सूत्र (जनै) व्यवस्था गरेका हुन् । त्यसैले यो आर्यत्वको चिनारी हो । आर्यत्वका त्यस्तै चिह्न शिखा र सूत्र हुन् । जनैको सिधा सम्बन्ध व्रतबन्धसँग देखिन्छ । यज्ञोपवीत धारण व्रतबन्धमै सुरु हुन्छ । व्रतबन्धको अर्थ हो– अनुशासनमा बाँधिनु । जनैको अर्को सम्बन्ध शिक्षारम्भसँग पनि गाँसिएको छ । प्राचीन कालमा ७–८ वर्ष पुगेका बालकलाई जनै लगाइदिएर गुरुकहाँ पढ्न पठाउने चलन थियो ।
गुरुले बालकका प्रज्ञा चक्षु खोलिदिन्थे । त्यसैले व्रतबन्धलाई उपनयन अर्थात् दोस्रो आँखा खोल्नु भनिएको हो । मानिस जन्मँदा पशुसरह हुन्छ जब उसमा संस्कारहरू गरिन्छन्, जब उसले शिक्षा प्राप्त गर्छ, तब मात्र उसको प्रज्ञा जन्म हुन्छ । यसैलाई द्विज भनिएको हो । शास्त्रमा ब्राह्मण, क्षत्रिय र वैश्यलाई मात्र द्विजत्वको अधिकार प्राप्त भए पनि व्यवहारमा विद्या विचक्षण स्वामी प्रपन्नाचार्य, योगी नरहरिनाथ आदि थुप्रै मनीषी द्विज ठहरिएका उदाहरण छन् ।
आज समाजले द्विजत्वलाई जातिसँग नभएर ज्ञानसँग जोडेको छ । उसले ग्रहण गरेको पेसाका आधारमा ब्राह्मण, क्षत्रिय, वैश्यादि छुटाउनुपर्छ भन्ने बहस सुरु भएको छ । मनु, वशिष्ठ र याज्ञवल्क्यहरूको समाजभन्दा आजको समाज धेरै भिन्न छ ।
परम्पराले श्रावण शुक्ल पूर्णिमा (जनै पूर्णिमा) लाई ब्राह्मणको, दसैँलाई क्षत्रियको र तिहारलाई वैश्यको पर्व भनेर वर्गीकृत गरेको भए पनि सबै वर्गका सनातनीले तिहारलाई सर्वाधिक महत्त्व दिइरहेका छन् । आज समाजको साध्य– आदर्श, ज्ञानार्जन, चिन्तन एवम् अध्यात्म साधना नभएर विद्योपार्जन बन्न पुगेको छ । यसैले जनै पूर्णिमा ओझेल परेको हुनुपर्छ ।


©Copied post
