राङ्खोला–बिरुवा सडक कालोपत्रे कार्य सम्पन्न, सरोकारवालाहरुको संयुक्त अनुगमन

स्याङ्जा, २०८१ चैत २८ – स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका अन्तर्गत राङ्खोला–धोवादी सडक खण्डमा सम्पन्न ६ किलोमिटर कालोपत्रे कार्यको अनुगमन आज विभिन्न सरोकारवाला निकायहरुले संयुक्त रूपमा गरेका छन्। राङ्खोला–बिरुवा सडक योजनाअन्तर्गत सञ्चालन भएको यस आयोजनाले ग्रामीण यातायात सञ्जाल सुदृढ पार्दै स्थानीय विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिइएको छ।

अनुगमन टोलीमा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तथा वर्तमान सांसदको विशेष उपस्थिती रहेको थियो। उनीसँगै जिल्ला समन्वय समिति स्याङ्जाका प्रतिनिधिहरू, बिरुवा गाउँपालिकाका अध्यक्ष र अन्य पदाधिकारीहरू, वडा अध्यक्ष, पूर्वाधार विकास कार्यालय स्याङ्जाका ईन्जिनियर तथा प्राविधिक टोली, पत्रकार, निर्माण व्यवसायी र स्थानीय सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सडक निर्माण कार्य सम्पन्न भएकोमा सबैले खुसी व्यक्त गरे भने निर्माण गुणस्तरको विषयमा पनि चासो प्रकट गर्दै आवश्यक सुधार र मर्मतसम्भारमा ध्यान दिन आग्रह गरिएको थियो। सांसदज्यूले अनुगमनका क्रममा बोल्दै ग्रामिण पूर्वाधारको सुदृढिकरणमा प्रदेश र संघीय सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो। साथै, जनताको प्रत्यक्ष जीवनशैलीमा प्रभाव पार्ने यस्ता योजनाहरुमा पारदर्शिता, गुणस्तर र समयसीमा भित्र कार्य सम्पन्न हुनु नै विकासको प्रमुख आधार भएको बताउनुभयो।

स्थानीय बासिन्दाहरूले लामो समयदेखिको माग पूरा भएकोमा हर्ष व्यक्त गर्दै सडकको नियमित मर्मत, गुणस्तरीय निर्माण कार्य र यातायात व्यवस्थापनमा निरन्तर ध्यान दिन आग्रह गरेका छन्। अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वाधार विकास कार्यालयका प्रतिनिधिले आगामी दिनमा सडकसँग सम्बन्धित अन्य योजनाहरूलाई पनि प्राथमिकताका साथ अघि बढाइने जानकारी गराएका थिए।

यस सडक स्तरोन्नतिले बिरुवा गाउँपालिकाको आन्तरिक तथा बाह्य आवागमन सजिलो बनाउनुका साथै कृषि, शिक्षा, स्वास्थ्य र व्यवसायिक गतिविधिहरूमा प्रत्यक्ष योगदान पुर्‍याउने स्थानीयको विश्वास छ।

Spread the love by sharing this post