बैशाख २२ लमजुङ जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीशहरको आयोजनामा इशानेश्वर माध्यामिक विद्यालय भोर्लेटारमा शनिबार शिविर सञ्चालन सम्पन्न भएको हो ।
सहकारीको स्थापना दिवसको अवसर पारेर सञ्चालन गरिएको शिविरमा ७ सय ८० जनाले आँखा सम्वन्धि सेवा लिएका छन् । ३ सय ८३ जनाले दन्त सेवा लिएको आयोजक जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक झमप्रसाद गुरुङले बताउनुभयो ।
उहाँका अनुसार दाँतको मात्र सेवा लिने विरामीको संख्या २ सय २३ रहेको छ । आँखा सम्वन्धि मात्रै सेवा लिने सेवाग्राहीको संख्या ६ सय २३ जना रहेको छ । १ सय ५० जना विरामीले आँखा र दाँत सम्वन्धी सेवा लिएको उहाँले बताउनुभयो । शिविरमा ४५ जनाको दाँत उखेलीएको ३ जनाको दाँत भरिएको उहाँले बताउनुभयो । आँखा सम्वन्धि सेवा लिएका मध्य ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।
४५ जना मध्य २५ जनाको तत्कालै शल्याक्रिया गर्नुपर्ने देखिएको छ । शल्यक्रिया गर्नुपर्ने विरामीलाई हिमालय आँखा अस्पतालले निशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउने छ । हिमालय आँखा हस्पताल पोखरा, जिल्ला आँखा उपचार केन्द्र लमजुङ र एविसी डेण्टल होम बेसीशहरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ३ सय वढिलाई निशुल्क चस्मा वितरण गरिएको छ । शिविरमा सामान्य दाँत तथा आँखा परिक्षण, निशुल्क, चस्मा तथा औषधि वितरण, परामर्श सेवा र दाँत झिक्ने सेवा प्रदान गरिएको जनकल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ताराराज घलेले बताउनुभयो ।
शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्र विशेषज्ञ डा. अनुप सुवेदी सहित ६ जनाको टिम, जिल्ला आँखा उपचार केन्द्रका प्राविधिक समिता गुरुङ, एबीसी डेण्टल होम बेसीशहरका डा.सोफिया शर्मा र डा. सुप्रिया कुँवरलगायतको टिमले सेवा प्रदान गरेको हो । सहकारीले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष सामाजिक काम गर्दै आएको छ । सामाजिक कार्य अन्तर्गत शनिबार भोर्लेटारमा शिविर सञ्चालन गरिएको हो ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै मध्यनेपाल नगरपालिका ६ भोर्लेटारका वडा अध्यक्ष विष्णुभक्त पौडेलले भोर्लेटारलाई छनौट गरेर शिविर सञ्चालन गरेकोप्रति आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । विशेषज्ञ सहितको टोलीले सेवा दिँदा मध्यनेपाल नगरपालिका ६ भोर्लेटार सहित छिमेकी गाउँका नागरिकले समेत सेवा लिएको उहाँले बताउनुभयो । शिविरमा सहकारीका अध्यक्ष ताराराज घले, उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, सल्लाहाकार समिति संयोजक क्या.मिलबहादुर गुरुङ, सल्लाहाकार सुवे. फमबहादुर गुरुङ, प्रवन्धक झमप्रसाद गुरुङसहित सञ्चालक समितिका पदाधिकारी, सदस्य एवं कर्मचारीहरुको उपस्थिति थियो