गण्डकी प्रदेश लमजुङ,
सौन्दर्यताको दृष्टिकोणले सबै ठाउँहरुको आ–आफ्नो विशेषता, परिभेष, रहनसहन, संस्कृति साथै भेषभुषा वर्षौंदेखि रहदै आएको पाइन्छ । मध्य नेपालको लमजुङ जिल्लाको करापुटार को पनि आफ्नो छुट्टै विशेषता छ । र खेलकुदसँगै अन्य विविध पक्षहरुमा आफुलाई एउटा सानो सुन्दर शहरको रुपमा विकसित गराउन अग्रसर पनि छ ।
हामीले त्यहि सुन्दर करापुटारबाट फुटबल रेफ्रीका रुपमा चर्चा बटुलिरहेका अमन दुराको चर्चा गर्ने जमर्को गरेका छौं ।
गण्डकी प्रदेश लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारमा बुवा तिर्थ बहादुर दुरा र आमा मनमाया दुराको कोखबाट कान्छो सन्तानको रुपमा रुपमा अमन दुराको जन्म भएको थियो । उनी बाल्यकालमा नम्र र लजालु स्वभावका थिए । ६ सन्तान मध्ये अमनको ३ दाई र २ दिदी पनि छन ।अमनको बाल्यकाल करापुटार मै बित्यो । सानोमा पढाई भन्दा बढी खेल्न मन पराउने गरेको बताउछन । उनले खेललाई नै निरन्तरता दिदै गर्दा श्री कुसुमाकर मा.वि. करापुटारबाट पढाई पास गरे ।

सानै उमेरदेखि फुटबल खेल्दै आएका अमनलाई घरपरिवारबाट त्यतिखेर राम्रो साथ सहयोग रहेको बताउँछन । गाउँघरमै सामान्य रुपमा दाईहरुसंग फुटबल खेल्ने गरेका अमनले गाउका प्रतियोगिता हुदै प्रदेश तथा काठमाडौमा पुलचोक क्लवबाट बि डिविजन फुटबल प्रतियोगिता हुँदै आफ्नो फुटबल यात्रालाई त्यहिंबाट अगाडी बढाएको सम्झिन्छन् ।खेल जीवनलाई नै आफ्नो भविष्य बनाएका अमनले खेल क्षेत्रमै लागेर उनले लामो समयसम्म फुटबलमा लागेर खेलाडी जीवनकै रुपमा अनुभव गर्न नपाए पनि फुटबल खेलमै निर्णायकको भुमिकामा अमन अहिले फुटबल मैदानमा व्यस्त नै छन् ।
उनले रेफ्रीको कोर्ष गरि ब्याज प्राप्त गरि सकेका थिए । “जे गर्नु छ बेलैमा गर्नु अर्थात उमेरमै गर्नु” भने झै अमनले आफ्नो रेफ्री जीवनलाई अगाडी बढाउने एउटा सुनौलो अवसर प्राप्त गरेका थिए । अमनका अनुसार उनले रेफ्री मै आफ्नो भविष्य त्यतिबेलैबाट खोज्न शुरु गरेको समेत स्मरण गर्छन् ।

उनी अगाडी भन्छन्, “नेपालको सन्दर्भमा कुरा गर्दा रेफ्रीहरुको खासै राम्रो भविष्य छैन । नेपालमा एकदम कम मात्रामा प्रतियोगिता हुने भएता पनि रेफ्रीहरुलाई कम अवसर दिने गरेको पाइन्छ । जसले गर्दा पनि रेफ्रीहरु अझै पछाडी परेको छ ।” केही रेफ्रीहरुले मात्र प्रतियोगिताहरु खेलाएर सबै रेफ्रीहरुको भविष्य नबन्ने कुरामा अमनको निचोड छ ।
उनी भन्छन्, “मैदानमा उत्रिएपछि खेलाडीलाई भन्दा बढी दबाब रेफ्रीलाई पर्छ । पूरै ९० मिनेटसम्म मैदानमा कुदेको कुदै गर्नुपर्यो । खेलाडीलाई पनि हेर्नुपर्यो, अनि बललाई पनि पछ्याइरहनुपर्यो । सिठ्ठी बजाउना साथ निर्णय पनि गरिहाल्नुपर्यो । मैदानमा बलले लाग्ने र खेलाडीसँग ठोक्किने त्यत्तिकै सम्भावना हुन्छ । रेफ्रीलाई आफ्नो पोजिसन मिलाउन पनि गाह्रै पर्छ । आफ्नो फिटनेस मेनटेन गर्नेदेखि डाइट खानेसम्म ध्यान दिनुपर्छ ।”

नेपालमा हाल तीन स्तरका रेफ्रीहरूले घरेलु फुटबलमा खेल संचालन गर्ने गरेका छन् । एन्फाले वर्षेनी विभिन्न स्थानमा रेफ्री कोर्स गरेर त्यसमा उत्तीर्ण हुनेलाई ‘एन्फा रेफ्री’ बनाउने गरेको छ । एन्फा रेफ्री मध्यबाट उत्कृष्टलाई छनोट गरेर ‘राष्ट्रिय रेफ्री’ छनोट हुने गरेका छन् । र त्यस सुचिबाट खेलको प्रदर्शन, विगतका अनुभव, फिटनेस टेस्ट र लिखित परिक्षापश्चात् उत्कृष्ट रेफ्री छनोट गर्ने प्रावधान रहेको छ ।यो क्षेत्रमा कमाइ कम चुनौती बढी छ । प्रतियोगिताहरु पनि भने जति नहुने र जति भएको छ त्यसमा कम स्थान पाइने गरेको अमन को गुनासो छ । यसमा एन्फाले साथै आयोजकले पनि विशेष ध्यान दिनु पर्ने उनको बुझाइ छ ।
रेफ्रीहरुको हकहितको लागि पनि एन्फाले विशेष योजना ल्याउनु पर्ने उनको बुझाइ छ । रेफ्रीहरुले यसबाट आफ्नो आर्थिक अवस्थालाई सुधार्न सक्ने अमनको सुझाव पनि छ । यसलाई नै आफ्नो भविष्य बनाउनेहरुको लागि अमन भन्छन्, “रेफ्री क्षेत्रमा भविष्य खोज्ने हो भने खेलाडी जीवन सकेर रेफ्री गर्छु भन्दा पनि १८, २० वर्षकै उमेरमै रेफ्री कोर्स गरेपछि आफुलाई स्थापित गर्न सकिन्छ ।” मेहनत गर्नेहरुको लागि रेफ्रीमा राम्रो भविष्य साथै राम्रो कमाई पनि रहेको अमन बताउछन ।
वैवाहिक जीवनबारे कुरा गर्दा अझै पनि बिहे नगर्ने सोचमा रहेको बताउँछन । उनी भन्छन् अझै मेहनत गरेर राष्ट्यि स्तर मै छनोट हुन मन छ । र आफुलाई त्यसको लागि पनि फिट रहनु छ ।” त्यसपछि मात्र बिहे गर्ने सोच रहेको अमन बताउछन ।
