इलाम-२ एमालेलाइ माओवादी को साथ

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ मा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

माओवादी केन्द्रले आफ्नो उम्मेदवारका लागि सिफारिस भएका धिरेन्द्र शर्मालाई पछि हटाएर एमालेलाई सहयोग गर्ने निर्णय भएको हो । शर्मा स्वयमले एमालेलाई सहयोग गर्ने निर्णय गरेको बताए ।

सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्माले इलाम २ मा माओवादीले आफ्नो पार्टीका उम्मेदवारलाई साथ दिने बताएका थिए । एक कार्यक्रममा उनले सत्ता गठबन्धन दलमा आफ्नो पार्टीको मत धेरै भएकाले उम्मेदवारी दिएको बताए ।

‘मलाई विश्वास छ, अन्तिममा पुग्दासम्म माअ‍ोवादीले हामीलाई समर्थन गर्छ, किनभने माओवादीले कांग्रेस जिताउन मिल्दैन,’ उनले भने, ‘हामीभन्दा माओवादी पार्टी धेरै भोट लिएर त्यो पोजिसनमा हुन्थ्यो भने हामी खुला दिलले समर्थन गथ्र्यौं ।’

एमाले अध्यक्षसँगै एमालेका नेताहरूले इलाम २ मा माओवादीले आफूहरूलाई साथ दिने दाबी गर्दै आएका थिए । एमाले नेताहरूको दाबीका बीच मौन रहेको माओवादीले अन्तमा आफ्नो उम्मेदवारलाई हटाएर एमालेलाई साथ दिने निर्णय गरेको हो ।

एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ र पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बन्ने निश्चित भनेका छन् ।

Spread the love by sharing this post