चैत २१-गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई र एक जना स्वतन्त्र सांसद गरि ६० जना सदस्यीय छन् ।
मुख्यमन्त्रीका लागि दाबी पेस गर्न ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । नयाँ गठबन्धनमा रहेका एमाले र माओवादीसँग ३० सांसद छन् । त्यसमा पनि सभामुखले हस्ताक्षर गर्न नपाउने व्यवस्था छ । प्रदेश सभामा ठूलो दल कांग्रेससँग २७ जना सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेको पनि समर्थन रहेकोले सांसद सङ्ख्या २८ छन ।
राप्रपाका दुई सांसदले समर्थन गरेमा पनि ३० जनामात्रै पुग्छ । तर राप्रपाले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने जनाएको छ ।
दुवै पक्षले फागुन २७ गतेसम्म ३१ जना सांसदको हस्ताक्षर बुझाउन नसके संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डे नै मुख्यमन्त्री नियुक्त हुनुहुनेछ ।